एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ :
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनकपुरधाम राजधानीको रुपमा विकास हुन नसकेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. राउतले जनकपुरधाम उपमहानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको आरोप लगाउदै जनकपुरधामलाई नरकपुर बनाइदिएको बताए ।

जनकपुरधाममा दुई दिन पानी पर्दा जलमग्न हुने, आगो लाग्दा बारुणयन्त्र बिग्रेको रहने तर मेयर करौडौंको गाडी चढने जनकपुरधाम कागजी राजधानी भएपनि व्यवहारमा राजधानी कसरी बन्ने ? उनको प्रश्न छ । संघिय सरकारले जनकपुरधामलाई दिएको कुल बजेटमा २२ प्रतिशत समेत खर्च हुन नसक्नु र ति २२ प्रतिशतमा समेत ब्रहमलुट मचाईनु र प्रदेश सरकार मुखदर्शन बन्नु जनकपुरधामका लागि बिडम्वना रहेको उनको तर्क छ ।

विकास निर्माणको काममा पिसीको नाममा खुलेआम घुसखोरी भइरहेको उनको तर्क छ । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई राजमहल जस्तो बनाएर प्रवेशद्वारामा सुरक्षाकर्मी तैनाथ गरि मेयरले राजाशैली प्रदर्शन गरेको उनले बताए । जनकपुरधामको मुख्य प्रवेश स्थल र प्रदेश सरकारको मधेश भवन जाँदा मुख्य सडकमै पर्ने पिडारीचौकमा थुपारिएको फोहरको अवस्था र दुर्दशा कुनै पनि सरकारले नदेखेर जनकपुरधामकै बदनाम गरिरहेको उनको तर्क छ । जनमत पार्टीले अव जनतामुखी सरकार बनाउने उनले अगाडि थपे ।