पुरन रौनियार
जनकपुरधाम, फागुन ३ : देशमा सात मध्ये मधेशमा पृथक सरकार छ । अन्य प्रदेशहरुमा मुख्य ठुला दलहरुको नेतृत्वमा सरकार छ भने मधेशमा मधेश केन्द्रित दल जसपाले चार वर्ष सम्म सरकारको नेतृत्व गर्न सफल भएका छन भने अप्रत्यासित केहि नभए वाँकी एक वर्ष पनि उनैले चलाउने सम्भावना छ ।
यस चार वर्षको कार्यकालमा मधेश सरकारले एक सहयात्री दल फेर्दै तिन सहयात्री दल थपे । हुन त सुरुमा एकै पार्टी जसपाको मात्र सरकार पनि हुन सफल भयो । यस बिचमा प्रदेश सरकारले करिव चार दजर्न एन कानुनहरु पास गर्न सफल भएका त छन तर त्यसको कार्यन्वयन पाँच प्रतिशत पनि हुन सकेको देखिदैन ।
प्रदेश सरकारले प्रहरी एन ल्यायो तर सरकार संग आफनो न प्रहरी छ न भर्ना गर्ने हिम्मत नै । प्रदेश सरकारले बेटीपढाउ बेटी बचाउ भन्दै छोरीलाई साइकल बाडे र बिमा गरे तर छोराहरु धमाधम बिना एसईई बिदेशिदा पनि कुनै मतलव छैन जस्ले कृषि क्षेत्रमा श्रम गर्ने जनशक्ति धवस्त भइरहेको छ र शिक्षा स्तर पनि ।
मधेश सरकारले केन्द्रिय सरकारलाई काउन्टर गर्ने, धम्की दिने, स्र्वोच्चमा रिट दायर गर्ने, भाषणमा गाली गरेर चर्चा कमाउने काम गरे तर आफनै प्रदशेवासी जनताको भने चित बुझाउन सकेका छैनन । मधेश सरकारले सञ्चार प्राधिकरण, मिडिया काउन्सिल गरे तर तत निकायले सेनिटाइजर बाटनु बाहेक कुनै काम गर्न सकेको छैन ।
मधेश सरकारले प्रदेश जनलोकपाल गठन गरे, उस्ले ९ मुद्दा दर्ता पनि गरेको छ तर एक कर्मचारी र एक रुपैया समेत बजेट नपाएपछि त्यो जनलोकपाल पनि त्यतीकै थन्किएका छन् । थन्किएको शब्दले मधेश सरकारले किनेको ठुलठुला बसहरुको स्मरण गरायो । प्रदेशका जनतालाई सहज र सुविधाजनक आवागमणका लागि किनिएको बसहरु अझै मधेश भवनमा घाँस चरिरहेको देखिन्छ ।
योग्य मुख्यमन्त्री तर काम गर्न सकेन
चार वर्ष अगाडि जनकपुरधाम चुरोट कारखानाको मैदानमा प्रदेशमा विकास, सुशासन, सदाचार, सुरक्षा सहितको ग्यारेन्टीको दावा ठोकेका मुख्यमन्त्री जनतालाई देखाउने किशिमको कुनै ठुला काम गर्न सकेका छैन । सभामुख सरोज कुमार यादवको सहजीकरणमा प्रदेश २ को नाम र राजधानी तोकेर एउटा नितिगत ठोस काम भने भएको देखिन्छ ।
यस प्रदेशको नाम र राजधानी एतिहाँसिक भएको भन्दै अहिले प्रशंसा भइरहेको छ । सरकारले अन्य दलका समेत मत क्रस गराएर नाम र राजधानीमा पाएको सफलता राजनितिक सफलता भएको विश्लेषण भइरहेको । तर मुख्यमन्त्री लालबाबु राउत व्यक्तित्वको हिसावले काम गर्न नसकेको पनि टिप्पनी भइरहेको छ ।
प्रध्यापक पुष्ठभुमिका उनी शिक्षा क्षेत्रमा काम गर्न सकेनन् । छा्ेरीलाई साइकल मात्र दिएनन छोरीलाई छोरा माथी एसिड प्रहार गर्न सक्ने क्षमतावान बनाउछु भनेर विभेदपुर्ण अभिव्यक्ति दिएका राउतले प्रदेशको मुख्य मेरुदण्ड कृषि, किसान, स्वास्थ्यको क्षेत्रमा कुनै उदाहरनीय काम गरेको देखिदैन ।
मुस्लिम भएर पनि बहुसंख्यक हिन्दु समाजमा पनि भिज्न चतुर राउत विभिन्न दाउ पेच र राजनितिक चतुराइले आफनो कार्यकाल बचाउन सके पनि मधेशका जनता उनलाई यसै कामले चिनिरहने कुनै पनि काम गर्न नसकेको टिप्पनी भइरहेको छ ।





