एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ :
आज फागुन १ गते जनयुद्व दिवसको अवसरमा आयोजित समारोहमा सहभागिता जनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनकपुरधाम आउदै छन् । मधेश प्रदेश सरकारमा आन्तिरक मामिला तथा सञ्चार मन्त्री समेत रहेका माओवादी मधेशका नेता भरत साहले जनयुद्व दिवसको अवसरमा आयोजित समारोहमा सहभागिताका लागि पार्टी अध्यक्ष प्रचण्ड जनकपुरधाम आउन लागेको बताएका छन् ।

मन्त्री साहले विज्ञप्ती जारी गर्दै जनयुद्व दिवसको अवसरमा प्रदेशमा सार्वजानिक विदाको समेत घोषणा गरेका थिए । स्रोतका अनुसार सभामुख हटाउने कांग्रेस र एमालेको भित्री रणनिति, एमसीसी, स्थानिय निर्वाचन र गठबन्धन सहितका सान्दर्भिक विषयमा प्रचण्डले खुल्ला र नयाँ अभिव्यक्ति मधेश प्रदेशबाटै घोषणा गर्ने रणनिति तहत जनयुद्व दिवसमा मधेशको राजधानी जनकपुरधाम आउन लागेका हुन ।

मधेश भवनको कर्भड हलमा कार्यक्रमको आयोजना गरिएको भएपनि कोभिड १९ को संक्रमणलाई मध्येनजर गर्दै देशभरिमै प्रसारण हुने गरि नेपाल टेलिभिजन र रेडियो नेपालका साथै विभिन्न सञ्चार माध्यमबाट समेत कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने भएकाले घरबाटै समेत सर्वसाधारणले सो कार्यक्रमको दृश्यावलोकन गर्न सक्ने आयोजकले जनाएको छ ।