एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ :
जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पुतला दहन भएको छ । प्रधानमन्त्री देउवा र हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको नेकपा एमालेसम्बद्ध भ्रातृ संगठनहरूले आइतबार पुतला दहन गरेका हुन् ।

राष्ट्रिय युवा संघ, अनेरास्ववियु र अखिल नेपाल पिछडा वर्गले रेल्वे स्टेशनबाट निकालेको जुलुसले नगरका विभिन्न भागको परिक्रमा गरी जनक चौकमा पुगेर पुतला दहन गरेका छन् । प्रधानमन्त्रीले मन्त्री यादवलाई नहटाएको भन्दै उनीहरूले नारावाजी पनि गरेका छन् । उनीहरूले मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, स्थानीय चुनावको मिति तोक्नुपर्ने लगायत माग गरेका छन् ।

कानुन हातमा लिएर आफ्नो पदीय मर्यादा भुलेर हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे थप आन्दोलन गर्नेसमेत उनीहरूले चेतावनी दिएका छन् । गत बुधबार बलिदानी दिवसको अवसरमा गौरमा भएको सभामा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिनुभएको थियो ।

मन्त्री यादवले आफ्नो मर्यादाको समेत ख्याल नगरी गौर नसंहारलाई जोडेर अभिव्यक्ति दिएपछि चौतर्फी विरोध हुँदै आएको छ । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश अध्यक्ष जानी खान र राष्ट्रिय युवा संघ नेपालका धनुषा इन्चार्ज अभिषेख अग्रवाल सहितका युवाहरुको सहभागिता थियो ।