एसपी रिपोर्टर
जनकपुरधाम, पुष १८ :
लोसपा सुप्रिमो महन्थ ठाकुर लोसपाको प्रदेश र जिल्ला नेतृत्व चयन गरेपछि असन्तुष्ट बनेका नेताहरु डा. सिके राउतको जनमतपार्टी प्रति सहानुभुती जताउन थालेका छन् । जसपाले जनमत पार्टीले गरिरहेको किसान अन्दोलनलाई बेवास्ता र एक किशिमले विरोधै गरिरहेका बेला लोसपामा असन्तुष्ट भनिएका केहि नेताहरु भने जनमत पार्टीको किसान आन्दोलन प्रति समर्थन जनाउन थालेको छ ।

लोसपाको प्रदेश र जिल्ला नेतृत्व चयन भएपछि असन्तुष्ट पुर्व राष्ट्रियसभा सदस्य बृशेषचन्द्र लाल तथा संविधानसभा सदस्य डा. विजय सिंह सहितका नेताहरु जनमत पार्टीको किसान आन्दोलन प्रति सहानुभुती मात्र देखाएका छैनन धनुषाका प्रमुख जिल्ला अधिकारीलाई भेटेरै पोर्ताहामा गोली चलाउनु दुःखद रहेको सम्म गुनासो र ध्यानाकर्षण समेत गराएका छन् । उनीहरुको गतिविधी डा. सिके राउतको आन्दोलन प्रति एक किशिमको एक्यवद्वता नै हो ।

लोसपा नेतृत्वलाई इमोसनल थ्रेट

लोसपाका एक नेताले भने, ‘असन्तुष्ट भनिएका समुहको यो गतिविधी लोसपा अध्यक्ष ठाकुरलाई अप्रत्यक्ष धम्की हो ।’ तपाई नसुध्रे हामी एता तर्फ पनि ढल्किन सक्छौं भन्ने सांकेतिक दबाबका लागि नेताहरु यस्तो अभियान थालिएको उनको तर्क छ । प्रदेश २ अध्यक्षमा जितेन्द्र सोनल, सचिवमा बिनोद चौधरी पप्पु र धनुषा अध्यक्षमा परमेश्वर साहलाई चयन गरिएपछि उनीहरु असन्तुष्ट बनेका छन् ।

यद्यपि अध्यक्ष ठाकुरले नेताहरु राजेन्द्र महतो, सरतसिंह भण्डारी सहितको सहमतीमै सो निर्णय गरिएको अन्य नेताहरुको दावी छ । एक नेताका अनुसार जनमतको किसान आन्दोलन मधेशका हकमा उत्तम मुद्दा भएकाले उनीहरु तत्काल एता ढल्किएको जस्तो गरेपनि विभिन्न विकल्पमा सक्रिय रहेका छन् ।

पुर्व समकक्षी त्रिपाठी र तमलोपा पनि विकल्प

जनता प्रगतीशिल पार्टी नामक नयाँ पार्टी घोषणा गरेका हृदयश त्रिपाठी तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हुन । तमलोपा हुँदा अहिले असन्तुष्ट रहेका नेताहरु लाल र डा. सिंह पनि तमलोपामै थिए । त्यस कारणले पनि असन्तुष्टहरु त्रिपाठीको सम्पर्कमा रहेको हुन सक्ने आंकलन गरिदैछ । तर सम्भावना धेरै हुन सक्ने उनीहरुको तर्क छ ।

केहि दिन पुर्न त्रिपाठीको पार्टी घोषणासभामा देखिएका राजनितिक विश्लेषक तुला नारायण साह जनकपुरधाममा आएर लोसपा, जसपा सहितका युवा नेताहरुसंग छलफल गरेका थिए । निर्वाचन आयोगमा तमलोपा नामक नयाँ पार्टी दर्ता भइसकेको छ । रविशंकर कुमार कर्णको अध्यक्षतामा गठन भएको पार्टी यिनै असन्तुष्ट नेता मध्येका लालको योजना तहत दर्ता भएको हुनुपर्ने आंकलन लोसपा वृतमा भइरहेको छ । असन्तुष्टहरुको पक्षमा शिर्षनेताहरु खुलेर बोल्न सकिरहेको छैन ।

महन्थ–राजेन्द्र केमिस्ट्रिी कहिले सम्म ?

तत्कालिन सदभावनालाई बिलय गरि सन्त नेता महन्थ ठाकुरलाई नेता मानेका राजेन्द्र महतो र महन्थ ठाकुरको अहिले सम्मको सम्बन्ध ठिकैठाक रहेको बताइन्छ । महतोले ठाकुरको निर्णयहरु सर्हष स्वीकार गरिरहेका छन् । महतो समुहका दोस्रो तहका अधिकांश नेताहरुले महतोको साथ छोडिसकेको अवस्थामा महतो ठाकुरको विकल्प सोच्ने अवस्थामा तत्कालै नरहेको एक नेताको दावी छ ।

तर स्रोतका अनुसार लोसपामा आहिले असन्तुष्ट भनिएका नेताहरु ठाकुर र महतोको सम्बन्ध बिच्छेदको पक्षमा रहेका छन् । तत्कालिन तमलोपाकै समुह उचित रहेको भन्दै उनीहरु सोहि समुह पुर्ननिर्माण गर्न चाहेपनि लोसपा अध्यक्ष ठाकुर पनि महतोलाई धोका दिने पक्षमा तत्कालै देखिदैनन । जस्ले असन्तुष्ट नेताहरु ठाकुरसंग चिढिएका छन् । ठाकुर र महतोको सम्झदारी जारी रहे अहिले तत्कालै लोसपामा तलमाथी हुने सम्भावना न्युन छ ।

लोसपामा फुट आए महतो र डा. सिके राउत मिल्ने दावी

अप्रत्यासित भएर लोसपामा विभाजन आए र ठाकुरले महतोलाई छोडने संकेत गरेको खण्डमा महतो र डा. सिके राउत बिच एकताको बहस पनि चल्न थालेको छ । मधेश बुझेका महतो र मधेशमा आक्रमक ढंगले अगाडि बढदै गरेका डा. राउत बिच एकता भए मधेशमा राम्रो चल्ने पार्टीको उदय हुने केहिको भनाई छ ।

एक युवा नेताले भने, ‘महतोलाई अहिलेको अवस्थामा तत्कालिन मतलोपाका नेताहरुले छोडेको खण्डमा हामी महतो र राउतको मिलन गराउने अभियानमा लाग्ने छौं । महतो र डा. राउतको जुगलबन्दीले मधेशमा राम्रो बैकल्पिक शक्तिको निर्माण हुन सक्ने उनीहरुको दावी छ ।