एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ : नेपाली कांग्रेस प्रदेश २ को कार्यसमितिको अन्य पदका पदाधिकारी उम्मेदवारहरुको मतगणना शुक्रवार साँझ सम्म सम्पन्न गरिसक्ने गरि मतगणना थालिएको छ । निर्वाचन समितिका अधिकृत अरुण कुमार यादवका अनुसार उपसभापती, महामन्त्री र सहमहामन्त्री सहितको पदाधिकारीहरुको मतगणना दुई ठाँउमा भइरहेको र थप गरेर आजै ३ बजे सम्म मतपरिणाम घोषणा गर्ने योजना सहित मतगणना भइरहेको छ ।
उनले भोली साँझ सम्म कार्यसमितिका सदस्यहरुको समेत गरि सबै मतपरिणाम आइसक्ने बताए । सभापतीका लागि भएको मतगणना भने सम्पन्न भइसकेको छ । नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलका नेता प्रदेश २ सरकारका भौतीक पुर्वाधार तथा विकास मन्त्री राम सरोज यादवलाई पराजित गर्दै रौतहटका पार्टी सभापती कृष्ण प्रसाद यादव विजयी भएका छन् । कृष्णले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हो । विजयी कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन् । २८ मत बदर भएको छ ।

पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । सभापतीमा विजयी कृष्णले जनकपुरधामलाई सबैको आफनो बनाएर प्रदेश २ मा एक कांग्रेस बनाउने बताएका छन् । उनी आफना समर्थकहरु सहित जानकी मन्दिर पुगेर दर्शन तथा पुजापाठ गरेका छन् ।





