एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ :
प्रदेश २ सरकारले प्रदेश २ को नाम मधेश प्रदेशमा सहमतीका लागि सहमती जुटाउने प्रयास थालेको छ । प्रदेश २ सरकार तथा सरकारको नेतृत्व कर्ता दल जसपाको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहको अगुवाईमा पार्टीका नेताहरु मनिष सुमन, सुरेश मण्डल, विशेश्वर प्रसाद यादव तथा शैलेन्द्र यादव सदस्य रहेको टोली सो सहमतीका लागि प्रयास थालेका हुन ।

टोलीले मंगलवार नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीका संसदिय दलका नेताहरु क्रमश भरत साह र सत्रुधन महतोलाई भेटेर नाम मधेश प्रदेशमा सहमती जनाउन आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको टोली संयोजक मन्त्री साहले बताए ।

साहका अनुसार बुधवार लोसपाका नेता जितेन्द्र सोनल, काग्रेस नेता राम सरोज यादव र एमाले नेता सत्यनारायण मण्डल संग पनि भेटेर सो प्रस्ताव सहित सहमतीका लागि आग्रह गर्ने बताए । लोसपा भने मधेश प्रदेश नै हुनुपर्नेमा सुरु देखि सहमत नै छन् र त्यसका लागि एक सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा एक वार्ता टोलीनै गठन गरिसकेको छ ।

लोसपाको पनि सकारात्मक प्रयास

एता प्रदेश नम्बर–२ को नाम र राजधानी सम्बन्धमा प्रदेशसभाभित्र रहेका दलहरुसँग छलफल तथा सहमति निर्माण गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले संसदीय वार्ता टोली गठन गरेको छ । आगामी बैठकमा प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ हुने गरी छलफल तथा सहमति गर्न लोसपा नेपालले वार्ता टोली गठन गरेको हो ।

लोसपा नेपाल संसदीय दलको निर्णयअनुसार प्रदेशको नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’का लागि प्रदेशसभाभित्र रहेका दलहरुसँग छलफल तथा सहमति निर्माण गर्न प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको लोसपा नेपाल प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

वार्ता टोलीको सदस्यहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरी रहेका छन् । नेता सोनलले वार्ता टोलीले सबै दलसँग छलफल संवाद गरी सहमतिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार बस्ने प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने बताइएको छ ।