एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ :
प्रदेश नंं २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले प्रदेश सभाको चालु आठौँ अधिवेशनबाट प्रदेश नंं २ को नाउँ तथा राजधानी तोक्ने पक्षमा सरकार सक्रिय रहेको बताएका छन् । श्री रामानन्द युवा क्लवको ३६ औं बार्षिकोत्सव अवसरमा आयोजित समारोहमा महतोले प्रदेश २ को राजधानी जनकपुरधाम हुनुपर्नेमा सबै दल सहमत रहेको भएपनि नामको विषयमा मिलन बिन्दु खोज्ने प्रयास भइरहेको बताएका छन् ।

मन्त्री महतोले चालु अधिवेशनबाटै प्रदेश २ ले नाम पनि पाउनेमा विश्वास व्यक्त गरेका छन् । प्रदेश २ को कामकाजी भाषा चयनको विषयमा समेत प्रदेश २ सरकार प्रयास गरिरहेको उनको तर्क छ । उनले क्लबले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै युवाहरूमा अहिले देखिएको दुर्व्यसन हटाउनका लागि क्लबले विशेष अभियान चलाउन सुझाव दिनुभयो ।

प्रदेश नंं २ का प्रदेश सभा सदस्य, लोसपाका नेता परमेश्वर साहले पनि प्रदेश २ को राजधानी जनकपुरधाम र्निविवाद रहेको र नामका विषयमा सहमतीको पहल भइरहेको बताए । रामानन्द युवा क्लब प्रतिबन्धको समयमा पनि सामाजिक रूपान्तरणको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अगामी दिनमा थप राम्रा कामकाज गर्नका लागि शुभकामना दिनुभयो ।