निरञ्जन साह
काठमाण्डौं, मसिंर २६ :
नेपाली कांग्रेसको अगामि सभापतीका आकांक्षी वर्तमान उपसभापती विमलेन्द्र निधीले आफनो उम्मेदवारी व्यक्तीको नभई मधेशको उम्मेदवारी रहेको बताएका छन् । महाधिवेशन प्रतिनिधीहरुसंग मत माग्ने क्रममा एसपीखवरसंग कुराकानी गर्दै निधीले भने, ‘म व्यक्ती उम्मेदवार होइन, निधीको रुपमा समुच्चा मधेश नै उम्मेदवार हो’ ।

उनले नेपाली कांग्रेसलाई मधेशले सदैव सम्मान गरेको स्मरण गराउदै अव पालो कांग्रेसले मधेशलाई के गर्छ भन्ने विषय मुख्य रहेको बताए । मधेशका नेता कार्यक्रताहरु पावर र पैसाका लोभी हुन म तिर आइ हाल्छ नि, भन्ने मनशायले नै वर्तमान सभापती देउवाले मेरो उम्मेदवारीलाई हल्का रुपमा लिएको हुन सक्छ, निधीले थपे ।

यद्यपि उनले आफु मधेशको मात्र उम्मेदवार नभई हिमाल पहाड तराई मधेश सबैको साँझा उम्मेदवार बन्ने अपेक्षाका साथ उम्मेदवारी दिएको उनले बताए । हिमाल पहाड तराई मधेश सवैलाई जोडने कांग्रेस यो मुलनारालाई सार्थक बनाउन समेत एक पटक मलाई अवसर दिनुपर्ने निधीको तर्क छ ।

उनले सभापतीमा उम्मेदवार कायम रहेका पाँचजना बिचमा मतविभाजन भई पहिलो चरणमा सभापती निर्वाचित हुने सम्भावना कम रहेको दावी गर्दै दोस्रो चरणमा चुनाव भए आफुले पाएको मतको मुल्याङ्कन गर्दै देउवालाई हराउन मोर्चा बन्दी गर्ने समेतको खुलासा गरेका छन् । मेरो नेतृत्वमा देउवालाई मधेशले लगाएको गुणको मुल्याङ्कन भएन भने हामी पनि त्यस्ता नेतृत्वको मुल्याङ्कन त्यसरी गर्छौ निधीको तर्क छ ।