एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २८ :
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै काठमाडौं बाहिर पनि आन्दोलन सुरु भएको छ । विभिन्न जिल्लामा नेपाल बार एशोसिएसनको नेतृत्वमा अधिवक्ताहरूले आन्दोलन सुरु गरेका हुन् ।

यसैक्रममा जनकपुरधाममा पनि धर्ना सुरु भएको छ । आइतबार जनकपुरधामस्थित नेपाल बार एशोसियसनको नेतृत्वमा अभिवक्ताहरूले जिल्ला अदालत र उच्च अदालत अगाडि धर्ना दिएका हुन् । उनीहरूले बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामाका साथै न्यायपालिकामा शुद्धीकरणका लागि आफूहरूले आन्दोलन गरेको अधिवक्ताहरूले बताएका छन् । उनीहरूले नेपाल बार एसोसिएशनको केन्द्रीय कार्यसमितिले गर्दै आएको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कात्तिक ३० गतेसम्म प्रत्येक दिन एक–एक घण्टा धर्ना दिनेसमेत जानकारी दिएका छन् ।