एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ८ :
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक विकासलाई भ्रष्टाचारले खोकलो बनाउँदै लगेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार पार्टीले गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।

उहाँले मुलुकमा व्याप्त भ्रष्टाचार, कमिशनतन्त्र, लुटतन्त्र, अनियमितता र अराजकताले आर्थिक विकास हुन नदिएको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण आवश्यक रहेको पनि बताउनुभयो । अध्यक्ष यादवले नेताहरूको राजनीतिक लक्ष्य सामाजिक रूपान्तरण हुुनुपर्ने बताउनुभयो । उहाँले सामाज रूपान्तरणका लागि नेताहरू नै पहिला रूपान्तरित हुनुपर्ने सुझाव दिनुभयो ।

अध्यक्ष यादवले बाढी तथा डुबानका कारण समस्यामा परेका किसानहरूलाई अल्पकालीन तथा दीर्घकालीन सहयोग गर्न सरकारसँग माग गर्नुभयो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब आउने चुनावमा पहिलेको भन्दा राम्रो नजिता ल्याउन नसके जसपा निर्माणको औचित्व नरहने टिप्पणी गर्नुभयो । उहाँले संगठन मजबुत बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, जनकपुरधामका मेयर लालकिशोर साहले प्रदेश २ सरकारको आफ्नै शासन प्रशासन हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशमा संघीयता आए पनि संघीय सरकारले ब्रिटिश शैली देखाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मधेशी एकताका लागि उपेन्द्र यादव छाता ओढेपनि पहिलाको छाप मशालनै उचित रहेको अझै पनि आफनो लागि मशाल जिवित रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रामअशिष यादवले भाषण भन्दा संगठन निर्माण र विस्तारमा लाग्नु पर्ने बताए । कार्यक्रममा जसपाका नेता तथा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, प्रदेश सांसद् रामअशिष यादवलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।