एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ८ :
डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचारविरुद्धको पहिलो चरणको आन्दोलनअन्तर्गत सिटी जुलुस निकालेको छ । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले पूर्वघोषित कार्यक्रमअनुसार सोमबार विभिन्न जिल्लाको सदरमुकाममा सिटी जुलुस निकालेका हुन् । यसैक्रममा जनकपुरधाममा पनि सिटी जुलुस निकालिएको छ ।

रामानन्द चौकबाट निस्किएको सिटी जुुलुस नगरका विभिन्न भागको परिक्रममा गर्दै जनक चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुुलुसमा सहभागीहरूले कात्तिक ४ गते पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गरेका छन् । उनीहरूले भ्रष्टाचारीहरूलाई अब नछाड्ने चेतावनी दिएका छन् । आफूहरू अब एक्सन आइसकेको पनि उनीहरूको भनाइ छ ।

यसअघि, आइतबार जनमत पार्टीले पहिलो चरणअन्तर्गत ९ दिने आन्दोलनका कार्यक्रमण घोषणा गरेको थियो । आन्दोलनका अन्य कार्यक्रमअनुसार कार्तिक १० गते हरेक वडामा आन्दोलन समिति वनाउने, वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने, ११ गते वडामा युवा दस्ता प्रशिक्षण दिएर आरपार आन्दोलनको तयारी गर्ने, १२ गते जिल्ला सदरमुकाममा मशाल जुलुस र १३ गते अधिवेशन गर्ने घोषणा गरिएको छ ।

त्यसपछि, कात्तिक १४ गते केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलनको थप कार्यक्रम ल्याउने तथा १५ गते गाउँपालिकाको ठूलो वजार र हटियाहरूमा कोणसभा र १६ गते वडा र टोलहरूमा कोणसभाका साथै अन्तरक्रिया कार्यक्रम गर्ने जनमत पार्टीले जनाएको छ । यसअघि, कात्तिक ४ गते जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागका निमित्त प्रमुख राजेश कुशवाहालाई जनकारबाही भन्दै अर्धनग्न पारी नगर घुमाएका थिए ।

जनकपुरधामका भित्रि सडकहरूमा ढल बिच्छाएर पुनर्निर्माण नगरेको भन्दै कुशवाहालाई कारबाही गरिएको थियो । यही घटनामा सलग्न रहेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ नेता तथा कार्यकर्तालाई रिहाइ तथा भ्रष्टाचारीविरुद्ध जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।