एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ५ :
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख डिई राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि प्रदेश २ का इन्जिनियरहरु आन्दोलित भएका छन् ।

राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुहरु जनकपुरधामको थापाचौकमा रहेको कार्यालयमा घुसेर तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर शरिरमा हिलो दल्दै नगर परिक्रमा गराएपछि पेशागत हकहित संरक्षणको माग गर्दै इन्जिनियरहरु आन्दोलित भएका हुन् ।

नेपाल इन्जिनियर एशोसएसन प्रदेश २ मा आवद्ध इन्जिनियरहरु जुलुश निकालेर जनमत पार्टी र जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध नाराबाजी गरेका थिए । इन्जिनियरहरुको सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर घुमाउनु कानुनी राज्यको उपहास रहेको भन्दै प्रजिअ बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएका हुन् ।

इन्जिनियर अगुवाहरु भावेश मिश्र र गौरी पण्डित सहितकाले न्याय नपाए आइतवार देखि काम बन्द हुने बताए । उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष सिके राउतसहित घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । जवाफमा सिडिओ बास्तोलाले दोषी उपर कारवाही हुने बताएका छन् ।

पेशागत रूपमा एक इन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन् गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषद्को दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल इन्जिनियरिङ् परिषद्सँग माग गरेका छन् ।