एसपी रिपोर्टर
जनकपुरधाम, असोज ४ :
नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गठबन्धन भित्र पनि केपि ओली जस्तो प्रतिगमनकारी प्रवृती जन्मिन सक्ने भन्दै सचेत हुन आवयश्क रहेको बताएका छन् । धनुषाको शहिदनगर नगरपालिकाको डुमरीयामा सहिद सूर्यनाथ रान यादवको ३६ औँ स्मृति सभालाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धन भित्र पनि केपि ओली प्रवृती नहोस भन्ने कुरामा सजग रहन आवयश्क रहेको बताए ।

नेपालको कम्युनिस्ट आन्दोलनमा सहिद सूर्यनाथ रानको ठूलो योगदान रहेको उनले बताए । श्रेष्ठले विषम अवस्थामा पनि शहिद रानले कम्युनिस्ट पार्टीको विकासका लागि खेल्नुभएको भूमिका सबैका लागि प्रेरणाको श्रोत भएको बताए । सङ्घीय गणतन्त्रको रक्षाका लागि निर्माण भएको वर्तमान गठबन्धनको सरकारले चाडै पूर्णता पाउने उनको विश्वास छ ।

पूर्णता पाएपछि सरकारको कामकाजले थप गति लिने विश्वास पनि उनले व्यक्त गरेका छन् । शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरीया यादवको अध्यक्षतामा भएको कार्यक्रममा अन्य वक्ताहरुले सहिद सूर्यनाथ रानको योगदान र पार्टी तथा संगठनका लागि खेलेको भुमिका स्मरण गरेका थिए ।

कार्यक्रममा पुर्व माओवादी तथा हाल जसपा नेपालका नेता रामरिझन यादवले शहिद रान एक कुशल साहित्यकार समेत रहेको बताउदै साहित्य नहुनेले सत्ता कहिल्यै प्राप्त गर्न नसक्ने बताए । कार्यक्रममा पार्टीका प्रदेश नंं २ सह इन्चार्ज विश्वनाथ साह, महेन्द्र पासवान, प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण लगायतले सहिद रानको योगदानमाथि प्रकाश पारेका थिए ।