एसपी रिपोर्टर
काठमाण्डौं, भदौ २० : सरकारले विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मौलिक हक कुण्ठित एवम् हनन हुने गरी निकालेको धम्कीपूर्ण विज्ञप्तिप्रति आईटी आर्मीले आपत्ति जनाएको छ । आईतबार आईटी आर्मीको राष्ट्रिय संयोजक चन्द्रभुषण साहले वकत्व जारी गर्दै भ्रामक र नौटंकीपूर्ण विज्ञप्तिको बलमा देश र जनताको बोलीमा बन्देज लगाई मौन, गुमराह वा भयवित गर्ने कार्य नगर्न सरकारलाई सचेत गराएको छ ।
अमुर्त रुपमा सरकारले एमसीसीको विरोध गरे कारवाही गर्ने भनी सरकारले युवा, विद्यार्थी र देशभक्त नेपालीलाई आतंकित गर्ने कार्य भर्त्सना गर्दै आईटी आर्मीले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनको सरकारको ध्यानाकर्षण गराएको छ ।
“गृह मन्त्रालयले विचार र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मौलिक हक कुण्ठित एवं हनन हुने गरी गलत मनसायले निकालेको विज्ञप्तिप्रति हाम्रो गौरवशाली संगठन आईटी आर्मीको गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा उल्लेख छ ।
गृह मन्त्रालयले कुनैपनि देश वा आयोजनाको नाम नतोके पनि विवादित एम.सी.सी. (ःऋऋ) परियोजनाको उपाध्यक्ष नेपाल आउन लागेको सन्दर्भमा धाकधम्कीपूर्ण अमुर्त विज्ञप्ति निकाल्नुको भित्री गलत मनसाय आजको २१औं शताब्दीका देशभक्त, सचेत एवं जागरूक आम नेपाली जनता र त्यसमा पनि मुख्यतः युवा वर्ग सहजै बुझ्न तथा प्रतिवाद गर्न सक्ने हैसियतमा पुगीसकेको विषय जानकारी गराउदैं यस विज्ञप्तिप्रति कडा शब्दमा घोर आपत्ति, निन्दा एवं भर्त्सना गर्दछु ।“ संयोजक साहद्वारा जारी वक्तव्यमा उल्लेख छ, ।





