पुरन रौनियार
जनकपुरधाम, साउन २४ :
निर्वाचन आयोगले उपेन्द्र समुहलाई जसपाको आधारिकता प्रदान गरे संगै पार्टीमा समेत कमजोर देखिएका महन्थ ठाकुर र राजेन्द्र महतो अव नयाँ पार्टी सञ्चालनको आन्तिरक तयारीमा जुटेका छन् । आधारिकता विरुद्व स्र्वोच्चमा दायर मुद्दाको फैसला प्राविधिक कारण रहेपनि यि दुईजना नेता विशुद्ध मधेशवादी पार्टी सञ्चालनको तयारीमा देखिएका छन् ।

तत्कालिन समाजवादी फुटनै लाग्दा उपेन्द्र यादवसंग एकता गरि जसपा बनाएका बयोबृद्व नेता महन्थ ठाकुर अहिले पुनः नयाँ मोडमा उभिएका छन् । प्रतिनिधीसभाको पुर्नस्थापना र शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन र निर्वाचन आयोगले जसपाको आधिकारिक पक्ष उपेन्द्र यादव समुहलाई घोषणा गरेपछि महन्थ ठाकुर र राजेन्द्र महतो पुनः नयाँ मोडमा उभिएका छन् । अव उनीहरुसंग लचिलो भएर जसपामै अटाउने या त नयाँ पार्टी चलाउने मात्र बिकल्प रहेको छ । तर जानकारहरुले ठाकुर उपेन्द्रको अधिनमा बस्न नसक्ने बताए । यि दुवै नेता अहिले मधेश दौडाहामा रहेका छन् । पर्सा देखि सप्तरी सम्मको जिल्ला जिल्लामा पुगिरहेका उनीहरु अगुवा कार्यक्रता भेलाको नाममा अगामि रणनिती तय गर्न सुझाव संकलन गरिरहेका छन् ।

नेताहरुले आधारिकता विरुद्व स्र्वोच्चमा दायर भएको मुद्दाको फैसला सम्म प्रतिक्षा गरि मात्र नयाँ पार्टीको बारेमा सोच्ने बताइरहेका छन् । यद्यपि उनीहरु नयाँ पार्टी, त्यसको सम्भाब्यता र रुपरेखाको बारेमा सुझाव संकलनका लागि मधेश झरेको बताइन्छ । तत्कालिन राजपामा छ जना नेताहरु रहेकाले हृदयश त्रिपाठी नअटाएको र अव महतो र त्रिपाठीलाई बरिष्ठ नेता बनाएर नयाँ मधेशवादी पार्टी सञ्चालनमा ठाकुरलाई सहजता देखिएकाले नयाँ पार्टीको तयारीमा उनीहरु रहेको बताइन्छ ।

शुक्रवार सप्तरी, महोतरी, बारा र सिरहा, शनिवार धनुषा तथा आइतवार सर्लाही सहितका जिल्लामा भेला गरिरहेका नेताद्वय उपेन्द्र यादव माथी खनिएका छन् । मधेश आन्दोलन र मधेशी सहितको सहादतमा नेता बनेका उपेन्द्र यादवले नै पटक पटक मधेशको मुद्दा र मांग कमजोर गर्न भुमिका खेलेको उनीहरुको आरोप छ ।

महतोले ठाकुरलाई नेता मान्न तयार रहेको त्रिपाठीलाई महतो सरहको हैसियत दिदाँ उनी पनि तयार हुने भएकाले ठाकुर त्रिपाठी सहितको मधेशवादी शक्ति निर्माणमा जुटेका छन् । रेशम चौधरीका लागि जोडदार आजाव उठाएर चौधरीलाई पनि यथावत राख्ने र मन्त्रीको लोभमा अर्को समुह तर्फ बाटो बिराएकाहरुलाई बिस्तारै घर फर्काएर राम्रो पार्टी बनाउने योजना उनीह्रुको देखिन्छ ।

नेता ठाकुरले उपेन्द्र यादव संकटमा रहेका बेला आधा आधा हिस्सेदारी रहने गरि तत्कालिन राजपासंग उनको पार्टीको मिलन भई जसपा बनेको तर यादवले पछि पार्टी कब्जा गर्ने नियतका साथ एकलौटी गलत कार्य गर्न थालेको बताए । नेताहरुको अभिव्यक्ती सुन्दा उनीहरुको पुर्नमिलन असम्भव छ । यस्ले मधेशमा पुनः दुईवटा शक्ति मधेशवादी राजनितिक दलको रुपमा अगाडि बढने प्रष्ट भएको छ ।