एसपी रिपोर्टर
जनकपुरधाम, असार १० :
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झा अहिराजबाट गरिएको मन्त्रिपरिषद् बिस्तार विरुद्ध उच्च अदालत जनकपुरमा रिट दर्ता भएको छ । प्रदेश २ को मन्त्रिपरिषद् समानूपातिक समावेशी सिद्धान्त विपरीत रहेको भन्दै अधिवक्ता राजकुमार महासेठले उच्च अदालत जनकपुरमा रिट दर्ता गराएका हुन् । अधिवक्ता महासेठले प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतकाविरुद्ध रिट दर्ता गराएका छन् ।

अधिवक्ता महासेठले २०७२ को संविधानको धारा १ को उपधारा (२), धारा १८, धारा ३८ को उपधारा (४), धारा ४२ को उपधारा (१), धारा ४० को उपधारा (१), धारा ५६ को उपधारा (३), धारा १६८ को उपधारा (९), धारा १४४ र न्याय प्रशासन ऐन २०७३ को दफा ८ बमोजिम रिट दर्ता गराएका छन् ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (९) मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यहरु मध्येबाट समानूपातिक समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेशसभाका कुल सदस्य संख्याको २० प्रतिशत भन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था रहेपनि मुख्यमन्त्री राउतले जेठ २६ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्रीमा ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा विरेन्द्र सिंहलाई नियुक्त गरेकोमा सो नियुक्ति असमावेशी रहेको भन्दै अधिवक्ता महासेठले रिट दर्ता गराएका हुन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख अहिराजले गत जेठ २६ गते मन्त्रीमण्डल विस्तार गरेकोमा त्यस नियुक्तीलाई उत्प्रेषणको आदेशबाट बदर गरी पाउँ भनि अधिवक्ता महासेठले उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता गरेका छन् । साथै उनले अब मन्त्रीमण्डल गठन वा पुर्नगठन गर्दा समानुपातिक समावेशी सिद्धान्त बमोजिम मात्र गर्नु÷गराउन भनी विपक्षीको नाममा परमादेश लगायत अन्य उपयुक्त आज्ञा–आदेश समेत जारी गरी पाउँ भनि निवेदन दिएका छन् ।

रिट निवेदनको अन्तिम कारबाही नभएसम्मका लागि हालै नियुक्त भएका मन्त्री यादव, शर्मा र सिंहलाई मन्त्रीको हैसियतमा कुनै किसिमको काम नगर्न÷नगराउन भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम तत्कालै अन्तरिम आदेशको माग समेत गरिएको छ ।