एसपी रिपोर्टर
काठमाण्डौं, असार ८ :
जेठ २१ र २७ गते नियुक्त भएका मन्त्रीलाई काम गर्न नदिने सर्वोच्च अदालतको आदेशले राजनीतिमा गम्भीर राजनीतिक जटिलता सिर्जना गरेको सत्तारुढ दल नेकपा एमालेले बताएको छ । सर्वोच्चको आदेशबारे लोकान्तर डट्कमलाई प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्चको आदेशले आफूलाई एकदमै अचम्मित बनाएको बताए ।

‘सर्वोच्चको निर्णयबाट म अचम्मित छु, सर्वोच्चले यो फैसला गरेको छ, यो चाहिँ अप्रत्यासित छ । यसले राजनीतिमा अत्यन्त गम्भीर जटिलता सिर्जना गरेको देखिन्छ,’ ज्ञवालीले भने । यसबारे पार्टीमा छलफल गरेर औपचारिक निर्णय लिइने ज्ञवालीले बताए । सर्वोच्चको मंगलवारको अन्तरिम आदेशपछि सरकारमा सहभागी भएको जसपा सत्ताबाहिर पुगेको छ । २५ मध्ये २० मन्त्री पदमुक्त भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाश ढंगानाको इजलासले नवनियुक्त मन्त्रीहरूलाई काम गर्नमा रोक लगाएको छ ।