एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० : प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ,’ उनले पत्रमा लेखेका छन् । पुनर्गठिन मन्त्रिपरिषद्मा महिलालाई मन्त्री नबनाएको भन्दै एमालेले पनि प्रश्न उठाएको छ ।
प्रदेश २ प्रमुखको यस कदमको प्रशंसा हुन थालेको छ । प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् ।





