एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि तयार भएको छ । २१ जना सांसदको समर्थनमा ठाकुर ओलीसँग सत्ता सहकार्य गर्न तयार भएका हुन् । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सत्तामा जाने भन्ने कुरामा लगभग सहमति भएको जसपाका एक सांसदले बताए ।
‘हिजो प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्रीको कुरा हुँदा सत्ता सहकार्य गर्नका लागि सहमति भएको हो,’ ती सांसदले लोकान्तरसँग भने, ‘जसपाले माग गरेका मुद्दाहरू प्रधानमन्त्री ओलीले पूरा गरेको तथा केही प्रक्रियामा समेत रहेकाले ओलीसँग सहकार्य गर्न लागिएको हो ।’
’मधेश आन्दोलनमा लागेका मुद्दामध्ये धेरै फिर्ता भएका छन्, र बाँकी प्रक्रियामा छन् । नागरिकतासम्बन्धी अध्यादेश ल्याउने कुरा र संविधान संशोधनका लागि विज्ञसहितको कार्यदल गठन गर्ने कुरा समेत हिजो बसेको मन्त्रीपरिषद्को बैठकबाट गरिएको हुनाले ओली सरकारसँग सहकार्य गर्न लागिएको हो,’ उनले भने ।
सत्ता सहकार्यका लागि जसपाले १० वटा मन्त्रालय माग गरेको थियो, तर ओलीले ८ वटा मन्त्रालय दिने बताएपछि लगभग सहमति जुटेको उनले बताए । ठाकुर पक्षले आफूसँग २१ जना सांसद रहेपनि सांसद राजकिशोर यादव बुवाको किरियामा रहेका कारण उनको हस्ताक्षर हुन नसकेको उनले बताए ।
एमाले र जसपाका २० सांसदको हस्ताक्षरसहित राति नै शीतल निवासमा पुगेर ७६(५) को सरकारको दाबी प्रस्तुत गरिएको उनले बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै ७६(५)को प्रधानमन्त्री बनाउनका लागि बहुमत जुटाउन एमालेका १२१ र जसपाको २१ गरी १४२ जना सांसद रहेको भन्दै दाबी पेश गर्न लागिएको उनले खुलासा गरे । ठाकुर पक्षले त्यस्तो निर्णयसहित तयारी गरेपनि अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने बेखबर छ ।





