एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २३ :
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बिहीबार साँझ नेपालले आफू निकट केही नेतासहित देउवा निवासमा पुगेर छलफल गरेका हुन् । उनीहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्ड र यादवले ओलीका थप प्रतिगामी कदम रोक्न देउवासँग वार्ता गर्न सुझाएका थिए । सोही अनुसार नेपालले विहीबार विहानै देउवासँग भेटका लागि समय मागेका थिए । नेपाल देउवासँगको छलफल सकेर राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

रातोपाटीवाट