एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : जनकपुरधाम उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् । उद्योगी व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको चैत २८ गते हुने निर्वाचनमा साहले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरी संघको नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा उनले गरे । चैत ९ गते मनोनयन हुने भएकाले पत्रकार सम्मेलनको आयोजना गरी उनले उम्मेदवारीको घोषणा गरेका छन् ।
यस अघि कोषाध्यक्ष र महासचिव समेत भएर काम गरि सकेका साह वर्तमान वरिष्ठ उपाध्यक्ष हुन । उनी भन्छन, ‘आफूसंग संघको विभिन्न पदमा बसेर काम गरेको अनुभव रहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’ उनले व्यापारीहरुको सर सम्मान ओसार पसारमा भइरहेको समस्या समाधानका लागि अग्रजहरुको सरसल्लाह बमोजिम अगाडी बढ्ने बताए । उनले पछिल्लो समय उद्योग वाणिज्य संघ मार्फत हुन नसकेका केहि कामहरु पूरा गरेर देखाउने दावी गरे ।
उनले भने, ‘म नेतृत्वमा आए व्यापारीहरुको सरसामान आयात तथा निर्यातमा देखिने समस्या समाधानका लागि पहल गर्नेछु ।’ उनले जनकपुरधाम बजार पछिल्लो समय व्यवस्थित हुँदै गईरहेको बताउदै व्यापारीहरुका लागि सहज वातावरण निर्माण गर्नु आवश्यक रहेको धारणा राखेका छन् । जनकपुरधाममा आउने पर्यटक यहाँ बास बस्ने अवस्थाको निर्माणका लागि एउटा सफल प्रयास रहेको आवश्यक्ता देखाउँदै उनले आफ्नो नेतृत्वमा स्थानीय, प्रदेश तथा संघ सरकारसंग समन्वय गरेर अगाडी बढ्ने बताए । साहले अध्यक्ष पदमा उम्मेदवारी दिने भनिएका अनिरुद्व साहलाई समेत छेउमा राखेर पत्रकार सम्मेलन गरेका हुन ।