एसपी रिपोर्टर
काठमाण्डौं, चैत ३ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । योसँगै डिजेल र मट्टीतेलको मूल्य एक सय रुपैयाँ नाघेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ ।
यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको प्रवक्ता उपाध्यायले बताए ।
यस अघि गत महिना पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। फागुनमा दुई पटक मूल्य बृद्धि गरेको निगमले चैतको शुरुआतमै फेरि मूल्य बढाएको हो । अझै पनि पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको भनाइ छ । त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ ।
यो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको प्रवक्ता उपाध्यायले बताए । यसअघि पेट्रोल प्रतिलिटर ११६, डिजल र मट्टीतेल प्रतिलिटर ९९ मा बिक्री हुँदै आएको थियो। निगमले पछिल्लो पटक गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।