एसपी रिपोर्टर
काठमाण्डौं, पुष २४ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीबार शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ ।
नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रिय वाणिज्य बैंकले जानकारी दिएको छ । यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने गरी सरकारको तयारी थियो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई अध्यक्ष बनाउन लागेकोमा व्यापक विरोध भएपछि सरकार पछि हटेको छ । स्रोतका अनुसार कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद देखिएपछि शर्मालाई अध्यक्ष बनाइएको हो । सरकारले बैंकको सञ्चालक समितिमा भने कोइरालालाई गत भदौदेखि नियुक्त गरेको थियो ।