एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ४:
जनकपुरधाममा प्रोटोन विद्युतीय सवारीको नयाँ आधिकारिक शो रुम सञ्चालनमा आएको छ। जगदम्बा मोटर्सले बिहीबार जनकपुरधाममा आफ्नो १०औँ प्रोटोन शो रुम शुभारम्भ गर्दै नयाँ विद्युतीय गाडी ‘द अल–न्यू प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको हो।
शो रुम उद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पछिल्लो समय विद्युतीय सवारीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको उल्लेख गर्दै जनकपुरधाममा पनि प्रोटोनका विद्युतीय गाडीले राम्रो बजार पाउने विश्वास व्यक्त गर्नुभयो।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रोटोनको शो रुम जनकपुरधाममा सञ्चालनमा आउनु सकारात्मक भएको बताउँदै व्यवसाय विस्तारमा सङ्घको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सङ्घका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले अटोमोबाइल कम्पनीहरूले व्यवसायसँगै कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका गतिविधिलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले नयाँ शो रुम सञ्चालनसँगै जनकपुरधाम र आसपासका ग्राहकले विश्वस्तरीय विद्युतीय सवारीमा सहज पहुँच पाउने बताउनुभयो। आधुनिक प्रविधि, सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यका कारण ई.मास ५ ग्राहकको रोजाइमा पर्ने उहाँको विश्वास छ।
क्षेत्रीले कम्पनीको उद्देश्य मुनाफामा मात्र सीमित नरहेको बताउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न योजना तथा गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। नेपालभर रहेका प्रोटोनका शो रुममार्फत नयाँ विद्युतीय गाडी ग्राहकसम्म पुर्‍याउने कम्पनीको योजना रहेको उहाँले बताउनुभयो।


कम्पनीका अनुसार ‘प्रोटोन ई.मास ५’ नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारी हो। यो प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा जगदम्बा मोटर्सका मार्केटिङ हेड किरण आचार्य, सेल्स हेड दिपेश पौडेल, रिजनल म्यानेजर सुमन रेग्मी, जनकपुरधामस्थित शो रुमका म्यानेजर अनिलकुमार ठाकुरलगायत ग्राहक, व्यावसायिक साझेदार तथा अटोमोबाइल क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।