एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १:
टिभिएस मोटर कम्पनीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘अर्बिटर’ जनकपुरधाममा सार्वजनिक गरेको छ। कम्पनीको जनकपुरधामस्थित आधिकारिक विक्रेता आर्यन अटोमोबाइल्सले सोमबार एक कार्यक्रम आयोजना गरी अर्बिटर सार्वजनिक गरेको हो। कम्पनीले अर्बिटरलाई स्मार्ट, दिगो र सहरी यात्राका लागि लक्षित विद्युतीय स्कुटरका रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रममा आर्यन अटोमोबाइल्सका सञ्चालक सञ्जीवकुमार महतोले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर अर्बिटर सार्वजनिक गरिएको बताए। उनले दूरी क्षमता, आराम, सुरक्षा र आधुनिक प्रविधिलाई प्राथमिकतामा राखेर स्कुटर ल्याइएको जानकारी दिए।
अर्बिटरमा ३ दशमलव १ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा परीक्षण मानकअनुसार १५८ किलोमिटरसम्म दूरी तय गर्न सक्छ। स्कुटरमा ‘इको’ र ‘सिटी’ गरी दुई सञ्चालन मोड छन्। साथै, उकालोमा रोकिएपछि पुनः अघि बढ्न सहयोग गर्ने प्रणाली, स्थिर गति कायम गर्ने प्रणाली, पार्किङ सहयोग प्रणाली तथा ऊर्जा पुनःसञ्चय गर्ने ब्रेक प्रणालीसमेत जडान गरिएको छ।

स्कुटरमा १४ इन्चको अगाडिको पांग्रा राखिएको छ। यसले विभिन्न प्रकारका सडकमा स्थिरता, सडकसँगको पकड र सहज सञ्चालनमा सहयोग गर्ने कम्पनीको दाबी छ। १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली सडकको अवस्थाका लागि पनि अर्बिटर उपयोगी हुने कम्पनीले जनाएको छ।
डिजाइनतर्फ अर्बिटरमा छेउदेखि छेउसम्म फैलिएको अगाडिको बत्ती, आवरणसहितको एलइडी मुख्य बत्ती, एकीकृत संकेत बत्ती र रङ्गीन सूचना प्रदर्शक राखिएको छ। स्कुटरमा ३४ लिटर क्षमताको सिटमुनिको सामान राख्ने स्थान छ, जहाँ दुईवटासम्म हेल्मेट राख्न सकिने कम्पनीले जनाएको छ।
मोबाइल एपमार्फत ब्याट्रीको चार्ज र किलोमिटरको अवस्था जाँच गर्न सकिने सुविधा पनि स्कुटरमा रहेको छ। यसमा भौगोलिक तथा समय सीमा निर्धारण, प्रत्यक्ष स्थान पहिचान, दुर्घटना वा स्कुटर ढलेको सूचना, चोरी तथा तान्ने प्रयासको सूचना र स्वचालित सफ्टवेयर अद्यावधिकजस्ता सुविधा उपलब्ध रहेको आर्यन अटोमोबाइल्सका रामबालक महतोले बताए।
उनका अनुसार ग्राहकलाई बिक्रीपछिको भरपर्दो सेवा र आवश्यक पार्टपुर्जाको सहज उपलब्धता सुनिश्चित गर्न कम्पनीले विशेष ध्यान दिएको छ। ‘स्कुटर बिक्री गर्नु मात्र हाम्रो उद्देश्य होइन, ग्राहकलाई दीर्घकालीन रूपमा भरपर्दो सेवा र सहज स्वामित्वको अनुभव दिनु पनि हाम्रो प्राथमिकता हो,’ उनले भने।
अर्बिटर नेपालमा नियोन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्टियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ। यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
आर्यन अटोमोबाइल्सले जनकपुरधामसहित आसपासका क्षेत्रमा टिभिएसका दुईपांग्रे सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। नयाँ अर्बिटरले मधेश प्रदेशका सहरी तथा अर्धसहरी क्षेत्रमा विद्युतीय सवारीको प्रयोगलाई थप बढावा दिने अपेक्षा गरिएको छ।