एसपी रिपोर्टर
जनकपुरधाम, असार ३० :
सशस्त्र प्रहरी बल नेपालले धनुषामा अवैध रूपमा ओसारपसार भइरहेको लाखौं रुपैयाँ बराबरको काजु र चिनीसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
मंगलबार गस्तीका क्रममा सशस्त्र प्रहरीको टोलीले बा.प्र.०६–००१ ख ०३६४ नम्बरको ट्रकबाट ३६ बोरामा रहेको १ हजार ८० किलो काजु तथा ४२० बोरा नेपाली चिनी बरामद गरेको हो।
भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलका अनुसार बरामद गरिएको काजुको मूल्य करिब १० लाख ८० हजार रुपैयाँ रहेको छ। बरामद गरिएको नेपाली चिनीको स्रोत र कानुनी अवस्थाबारे समेत अनुसन्धान भइरहेको उनले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार बरामद गरिएको सामान र ट्रकको कुल मूल्य ४५ लाख ८० हजार रुपैयाँ कायम गरिएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।