एसपी रिपोर्टर
जनकपुरधाम, असार २८ :
जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
उपमहानगरपालिकाको १५औँ नगरसभामा नगरप्रमुख मनोजकुमार साहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आन्तरिक आय वृद्धि, पूर्वाधार विकास तथा शहरी उत्थानशीलता परियोजनालाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए।
प्रस्तुत बजेटअनुसार नेपाल सरकारबाट ३० करोड ५९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान, प्रदेश सरकारबाट करिब २ करोड रुपैयाँ समानीकरण अनुदान, नेपाल तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, सशर्त अनुदान तथा चालु आर्थिक वर्षमा बचत हुने रकमबाट बजेटको स्रोत व्यवस्थापन गरिनेछ। साथै, उपमहानगरपालिकाले २० करोड रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य पनि लिएको छ।
बजेटमा नगर सरसफाइ, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारी सिर्जना, पूर्वाधार निर्माण तथा नगर सौन्दर्यीकरणलाई विशेष प्राथमिकतामा राखिएको छ। साथै, शहरी विकासलाई दिगो, व्यवस्थित र उत्थानशील बनाउने योजनालाई समेत बजेटले प्राथमिकता दिएको जनाइएको छ।