एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ :
इन्डोनेसियाको अन्तर्राष्ट्रिय खाद्य तथा पेय पदार्थ ब्रान्ड ‘ऐचा’ले नेपालमा आफ्नो पहिलो फ्रेन्चाइज आउटलेट जनकपुरधाममा सञ्चालनमा ल्याएको छ। शुक्रबारदेखि जनकपुरधामको मिल्स एरियास्थित आउटलेटबाट कम्पनीका विभिन्न खाद्य तथा पेय पदार्थको बिक्री–वितरण सुरु गरिएको हो।
आउटलेटका सञ्चालक यशवर्धन सर्राफले कम्पनीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ स्टोर सञ्चालनमा ल्याइएको बताए।

नेपालमा पहिलोपटक ‘ऐचा’ ब्रान्ड भित्र्याउन पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले जनकपुरधामबाट सेवा सुरु हुनु स्थानीय उपभोक्ताका लागि नयाँ स्वाद र अनुभव हुने विश्वास व्यक्त गरे।
उनका अनुसार ‘ऐचा’ हाल विश्वका ३३ देशमा विस्तार भइसकेको छ भने दुई हजारभन्दा बढी आउटलेट सञ्चालनमा छन्। स्टोरमा उपलब्ध आइसक्रिम, विभिन्न प्रकारका चिया तथा कफी अत्याधुनिक स्वचालित प्रणालीमार्फत कम्पनीले तोकेको मापदण्डअनुसार तयार गरिने भएकाले विश्वका अन्य ‘ऐचा’ आउटलेटसरह समान स्वाद र गुणस्तर ग्राहकले प्राप्त गर्नेछन्।
सर्राफले जनकपुरधामका उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राख्दै उत्पादनको मूल्य सर्वसुलभ राखिएको जानकारी दिए। साथै, जनकपुरधामपछि काठमाडौं र पोखरामा पनि ‘ऐचा’का नयाँ फ्रेन्चाइज आउटलेट विस्तार गर्ने तयारी भइरहेको उनले बताए।