एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ :
नेपाली स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलले मधेश प्रदेशमा आफ्नो बजार विस्तार गर्दै जनकपुरधाममा आधिकारिक शाखा सञ्चालनमा ल्याएको छ। शाखा उद्घाटनसँगै कम्पनीले उपभोक्ताका लागि विभिन्न आकर्षक छुट तथा उपहार योजनासमेत सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार जनकपुरधामस्थित नयाँ शाखाबाट स्मार्टवाच, इयरबड्स, ब्लुटुथ स्पिकर, पावर बैंक, चार्जर, डाटा केबललगायत विभिन्न मोबाइल एक्सेसोरीका आधिकारिक उत्पादन बिक्री गरिनेछ। शाखा सञ्चालनसँगै मधेश प्रदेशका उपभोक्ताले आधिकारिक वारेन्टीसहितका उत्पादन तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको विश्वास छ।
शाखाका सञ्चालक अमृता साहले जनकपुरधामका उपभोक्तालाई गुणस्तरीय तथा आधिकारिक स्मार्ट ग्याजेट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको बताइन्।
अल्टिमा लाइफस्टाइलका जनरल म्यानेजर प्रज्ज्वल ढकालका अनुसार उद्घाटनको अवसरमा पहिलो ९९ जना ग्राहकले ९९ रुपैयाँमै इयरबड्स खरिद गर्न सक्नेछन्। त्यस्तै, १ हजार ९९९ रुपैयाँमा स्मार्टवाच र ३ हजार ९९९ रुपैयाँमा ब्लुटुथ स्पिकर उपलब्ध गराइने विशेष योजना पनि ल्याइएको छ।
यसैगरी, ८ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा एक जोडी इयरबड्स निःशुल्क तथा १० हजार रुपैयाँभन्दा बढीको खरिदमा एक स्मार्टवाच निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
ढकालका अनुसार नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रियस्तरका गुणस्तरीय स्मार्ट ग्याजेट उचित मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित कम्पनीले देशभर आफ्नो आधिकारिक बिक्री सञ्जाल विस्तार गरिरहेको छ। जनकपुरधाम शाखा सञ्चालनसँगै अल्टिमा लाइफस्टाइलका आधिकारिक शाखाको संख्या तीन पुगेको कम्पनीले जनाएको छ।