पुरन रौनियार
जनकपुरधाम, असार १५ : असार १५ गते देश व्यापी कार्यक्रम धान दिवस प्रदेश २ मा समेत मनाइरहँदा प्रदेशमा अधिकतम २५ प्रतिशत मात्र धान रोपाइ भएको छ । मनसुन र वर्षा समयानुकुल रहेपनि मलखाद्यको अभावका कारण दिवस रमझममा पनि किसानहरु चिन्तित देखिन्छन् ।
असार १५ गते देश व्यापी कार्यक्रम अन्तर्गत प्रदेश २ मा समेत धान रोपनीमा रमाइलो गर्दै दहि चिउरा र आँप खाएर धान दिवस मनाइएको छ । प्रदेश २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा मन्त्री, राज्यमन्त्री, सिडिओ, एसपी सहितकाहरु पनि धान रोप्दै दहिचिउरा र आँप खाँदै रमाए । तर किसानलाई भने रोपाई र उत्पादनको चिन्ताले दिवसका दिन समेत सताइरहेको देखियो । बाराका किसान नारायण दत्त अधिकारीले सलह किराको पिडका साथ साथै बिउँ वाहिर वाट आएपनि मलखाद्य समयमा नआइदिएकाले समस्या भएको बताउछन् ।
यस वर्ष मनसुन र वर्षा सवै समयानुकुल रहेपनि मलखाद्यको चरम अभाव र सलह किराको सम्भावित जोखिमले किसान पिरोलिएका छन् । धनुषाका किसान देव सागर दासका अनुसार मलखाद्यमा संघिय सरकारको व्यापक राजनिति करण छ । जनकपुरधामको संस्थानमा रहेको मलखाद्य पनि रातारात काठमाण्डौं गलिने काम भएको उनको आरोप छ ।
तर किसानहरुको सो पिडामा प्रदेश सरकारले आश्वासन वाहेक केहि पनि दिन नसक्ने विभागिय मन्त्री शैलेन्द्र प्रसाद साहको भनाई छ । मन्त्री साहका अनुसार धान उत्पादन र रोपाईको प्रत्येक वर्षको मुख्य समस्या भनेकै रासायनिक मल हो जस्को आयात र वितरणको सवै अधिकार संघिय सरकारले आफनै मातहत राखेर विभेद गरिरहेका छन् ।
मन्त्री साहले अव प्रदेश सरकार आफै मलखाद्य किनेर किसानलाई वितरण गर्ने कानुनका लागि पहल थाल्ने र संघिय सरकारसंग समन्वय गर्ने बताएका छन् । सोमवार धान दिवस मनाइ रहँदा प्रदेश २ मा १५ देखि २५ प्रतिशत सम्म धान रोपाई भइसकेको अनुमान प्रदेश २ को कृषि विकास निर्देशनालयका प्रमुख डा. रत्न कुमार झाको छ ।
स्थानिय र प्रदेश सरकार नजिकका सरकार भएकाले किसानहरुको समस्या अव अधिकांश तिनै सरकार समक्ष हुन्छ र तर संघिय सरकारले धेरै अधिकारहरु नियन्त्रण गरेर राखेकाले किसानहरुलाई आश्वासन वाहेक केहि दिन नसकेको यि सरकारहरुको भनाई छ । अगामि दिनमा देशको मुल आधार कृषि नै रहेकाले सवै सरकारले किसानहरुको समस्यामा संवेदनशिल हुन आवयश्क देखिन्छ ।
सो अवसरमा आयोजित समारोहमा आठवटै जिल्लामा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने किसानहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित कृषि र पशुपन्छी क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधी सहित किसानहरुको सहभागित थियो ।
तस्वीर र भिडियो : संजय साह