एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ :
मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरप्रमुख हरिप्रसाद मण्डलले १७औँ नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँटबाट १० करोड ५७ लाख रुपैयाँ, संघीय सरकारबाट २८ करोड ८८ लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार रुपैयाँ तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले आगामी वर्ष कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। साथै मटिहानीको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि विभिन्न योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नगरसभाका प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव ले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाए। उनले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई सरकारको रूपमा स्वीकार नगरी आफ्ना निकायसरह व्यवहार गर्न खोजेको बताए।
सभामुख यादवले मटिहानी नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै प्राप्त अनुदान अपेक्षाकृत कम रहेको बताए। उनले मानव विकास सूचकांकलगायतका आधारलाई पर्याप्त रूपमा विचार नगरी प्रदेश र स्थानीय तहलाई सीमित बजेट विनियोजन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समावेशीकरण, गरिबी न्यूनीकरण, कला तथा संस्कृति, खेलकुद, पूर्वाधार विकास, सिँचाइ, भवन तथा सहरी विकास, सञ्चार, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रका कार्यक्रम र योजनाहरू समेटिएका छन्।