एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २१ :
जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । करिब २ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको १२४ कोठा क्षमताको होटलको सोमबार भूमि पूजन सम्पन्न गरिएको हो ।
मिथिला हस्पिटालिटी प्रालिद्वारा जनकपुरधाम–१४ मुजेलियामा निर्माण हुने उक्त होटल तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । परियोजनाले जनकपुरधामलाई धार्मिक पर्यटकीय केन्द्रसँगै ‘वेडिङ डेस्टिनेसन’का रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मिथिला हस्पिटालिटीका अध्यक्ष रामेश्वर साहले होटलमा अन्तर्राष्ट्रियस्तरका सुविधा, सम्मेलन तथा विवाह समारोहका लागि अत्याधुनिक हल रहने जानकारी दिए । परियोजनामा काजी लामा, सुदीप चौधरी, उदयकान्त झा र ज्ञानेन्द्र ढुङ्गानालगायतको संयुक्त लगानी रहने जनाइएको छ ।
भूमि पूजन कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवले निजी क्षेत्रको लगानीले प्रदेशको आर्थिक गतिविधि र रोजगारी प्रवर्द्धनमा टेवा पुग्ने बताए । प्रतिनिधिसभा सदस्य मनिष झाले लगानीकर्तालाई विकासका साझेदारका रूपमा हेर्नुपर्ने धारणा राख्दै जनकपुरधाम–अयोध्या उडानको तयारी भइरहेको जानकारी दिए ।

मेयर मनोजकुमार साहले जनकपुरधामलाई व्यवस्थित र आकर्षक पर्यटकीय शहरका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उद्योगपति उपेन्द्र महतोले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक महत्त्व विश्वमै अनुपम रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गरे ।
पर्यटन तथा सेवा क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्यसहित सुरु गरिएको यस परियोजनाले जनकपुरधामको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र सुदृढीकरण र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।





