एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख २० :
चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालनमार्फत नेपालको हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति जनाइसकेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष रामेश्वर शाहले अब मिथिला नगरी जनकपुरधाममा आफ्नो लगानी विस्तार गर्ने भएका छन् ।
शाहको नेतृत्वमा ‘मिथिला हस्पिटालिटी’ अन्तर्गत जनकपुरधाममा पहिलो पाँचतारे होटल निर्माण गर्ने महत्वाकांक्षी परियोजना अघि बढाइएको छ । यस घोषणासँगै मधेश प्रदेशको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ ।
चितवनको परियोजना सञ्चालनमा आएको मात्र आठ महिनामै उनले अर्को ठूलो लगानी योजना सार्वजनिक गरेका हुन् । यसले उनको व्यावसायिक दूरदर्शिता र पर्यटन क्षेत्रमा दीर्घकालीन प्रतिबद्धता स्पष्ट पार्छ ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण जनकपुरधाममा हालसम्म अन्तर्राष्ट्रिय स्तरको आवास सुविधा अभाव रहेको अवस्थामा यो परियोजना अत्यन्त अर्थपूर्ण मानिएको छ ।
परियोजनामा करिब २ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ । करिब २ लाख वर्गफिट क्षेत्रफलमा फैलिने होटलको निर्मित क्षेत्रफल १ लाख २० हजार वर्गफिट रहनेछ । तीन वर्षभित्र निर्माण सम्पन्न गरी २०८६ सालको वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
होटलमा ८ विलासी सुइटसहित कुल १२४ कोठा र ३७२ बेडको व्यवस्था हुनेछ । यस परियोजनामा शाहसँगै पूर्व बैंकर ज्ञानेन्द्र ढुंगाना, व्यवसायी काजी लामा, सुदीप चौधरी र उदयकान्त झाको पनि लगानी रहनेछ ।
सुविधाको हिसाबले होटललाई एक पूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । यहाँ उच्चस्तरीय रेस्टुरेन्ट, लाइभ किचन, क्याफे लाउन्ज, लाइभ म्युजिकसहितको बार, रूफटप पूल बार जस्ता सेवा उपलब्ध हुनेछन् ।
त्यसैगरी, व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि सभा तथा बैंक्वेट हल, व्यापार केन्द्र, बहुउद्देश्यीय पौडी पोखरी, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट, एम्फीथिएटर, ईभी चार्जिङ स्टेशन तथा बालबालिकाका लागि खेल क्षेत्रसमेत रहनेछन् ।
परियोजना सञ्चालनमा आएपछि प्रत्यक्ष रूपमा करिब १५० जनाले रोजगारी पाउनेछन् भने अप्रत्यक्ष रूपमा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यो होटल मुख्यतः जनकपुर आउने धार्मिक पर्यटक, जानकी मन्दिर दर्शनार्थी, विवाह महोत्सवका सहभागी तथा व्यापारिक कार्यक्रमका प्रतिनिधिलाई लक्षित हुनेछ ।





