एसपी रिपोर्टर
जनकपुरधाम, चैत ३ : 
धनुषामा ठगी तथा मिटरव्याज प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका–१० निवासी ४३ वर्षीय दिपेन्द्रकुमार दासलाई ठगी मुद्दामा नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार चैत १ गते पक्राउ परेका दासलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा उनीविरुद्ध पहिलेदेखि नै लेनदेन सम्बन्धी विवाद रहेको र ठगीको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो प्रकरण बटेश्वर गाउँपालिका–५ शान्तिपुरका श्यामसुन्दर महतोले दिएको उजुरीपछि बाहिर आएको हो । महतोले दासविरुद्ध मिटरव्याज तथा ठगी गरेको आरोप लगाएका छन् ।
उजुरीअनुसार महतोले २०७८ साल वैशाख २७ र २८ गते व्यापारका लागि दाससँग २ करोड १५ लाख र १ करोड २५ लाख गरी कुल ३ करोड ४० लाख रुपैयाँ ऋण लिएका थिए । सो क्रममा दासले विभिन्न कागजात तथा ठूलो रकमका चेकहरू समेत लिएको बताइएको छ ।
महतोका अनुसार उनले सावाँ र ब्याजसहित विभिन्न मितिमा गरी जम्मा ४ करोड ७७ लाख ५० हजार रुपैयाँ बुझाइसकेका छन् । तर, यति रकम बुझाउँदा पनि ऋण नसकिएको भन्दै दासले धम्की दिने, चेक प्रयोग गरी मुद्दामा फसाउने चेतावनी दिने तथा बैंकमार्फत कालोसूचीमा राख्नेसम्मको काम गरेको आरोप लगाइएको छ ।
महतोले ब्याजभन्दा समेत ९६ लाख रुपैयाँ बढी असुली गरिएको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।