एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ८ : शनिबार जनकपुरधाम स्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा प्रवेश गर्दा मेला–महोत्सवमा आएको जस्तो अनुभूति भयो । विद्यालय प्राङ्गणमा चारैतिर विद्यार्थीहरु लामबद्ध भई स्टल लगाएर दैनिक उपभोग्य वस्तुहरु लहरै राखेर हाट बजारका व्यवसायीहरु जस्तो भुमिकामा थिए ।
घर सरसजावटका सामानहरुदेखि लिएर बगिया, पुरी, तरकारी, अचार, फापरलगायतका खाद्यसमाग्रीहरु पनि बिक्रीका लागि राखिएका थिए । यद्यपि ति सम्पुर्ण चिज विद्यार्थी आफैंले बनाएका रहेछन् । स्कुले पोशाकमा सजिएका छात्रछात्रा आ–आफ्नो अगाडि भुटेको मकै, सिमी, अमलाको अचार, जरेला, ग्राउन्डएप्पल, मुला, भटमास, तितेकरेला, कागती, मास, चामल, फर्सी, सुठुनी, सुन्तला, तेजपत्ता, दूध, घिउलगायत कृषि उत्पादन राखेर ग्राहकको प्रतिक्षामा यसरी बसिरहेका देखिन्थे जसरी बोहनी नभएर ग्राहकको प्रतिक्षामा कुनै व्यवसायी बसेका हुन्छन् ।
अभिभावकहरु आफनै विद्यार्थीसँग झोलाभरि सामानहरु किनेर फर्कंदै गर्दा हर्षित देखिन्थे । विद्यालयमा सञ्चालन गरिएको हाटबजारले आफूलाई बाल्यकालको स्मरण गराएको उनीहरुको भनाई थियो । लोप हुने स्थितिमा पुगेको हाटबजार, आफ्नै समुदायमा रहेको विद्यालयमा सञ्चालन गरिएकामा उनीहरु खुसी व्यक्त गरे ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीले हाटबजार सञ्चालन गरेका हुन् । हाटबजारमा देशभरिका ३० विद्यालयबाट आएका करिव ३५० जना विद्यार्थीहरुले ८० वटा स्टलमा विभिन्न वस्तुहरु बिक्रीका लागि राखेका थिए । पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीले उत्पादन गरेका सामग्रीको बजारीकरणमा सहजीकरणका लागि विद्यालयमा हाटबजार कार्यक्रम राखिएको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका निर्देशक डाक्टर सोनु साहले बताए ।
उनले भने, ‘अघिल्लो वर्ष हाटबजार आयोजना गरिएपनि सामग्री थोरै भएकाले अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिकाबीच सीमित हुन्थ्यो । तर, यसपालि बृहत रुपमा आयोजना गर्न पाउँदा एकदमै हर्षित छु ।’ ‘विद्यार्थीलाई हौसला र प्रोत्साहन प्रदान गर्न यसपालि हाटबजारलाई बृहत् गराइएको छ,’ निर्देशक डाक्टर सोनुले भने ।
‘विद्यार्थी पढ्छन् तर रोजगारको ग्यारेन्टी छैन । सीपमूलक काम केही जानेको हुन्न,’ नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले भने, ‘शिक्षालाई जीवनोपयोगी सीपसँग जोड्नुपर्छ । पढेर गरिखाने बनाउनु पर्छ । पैसा बोकेर किन्न जाने तर बेच्न लजाउने प्रवृत्ति हटाउनु पर्छ भनेर सिकाउने प्रयास गरिएको हो ।’ यो पनि एउटा पढाइ नै हो,’ कारखानाका सिईओ पवित्र बहादुर गौतमले भने, ‘हाम्रो शिक्षा विद्यार्थीलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने खालको हुनुपर्छ भन्ने महसुस गरेर यस्तो शैक्षिक अभ्यास गरिएको हो ।’
कारखानाले विद्यार्थीको किन्ने क्षमता हेरेर सामान विद्यालयमा बिक्री गर्ने गर्छ । गौतमका अनुसार अहिलेको सिकाइको तौरतरिकाले विद्यार्थीलाई अलमलमा पारिरहेको छ । यस्तो अवस्थामा २० वर्षको उमेरमा एकैपटक कोही ‘इनोभेटर’ हुन सक्दैनन् भन्ने कारखानाको बुझाइ छ ।