एसपी रिपोर्टर
जनकपुरधाम, असोज १३ : अर्थमन्त्री प्रकाश शरण महतले देशको अर्थतन्त्र सुधारन्मुख रहेको बताउदै गलत हल्ला र अफवाहका कारण मात्र परिस्थती प्रतिकुल बन्न गएको बताएका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघको ५६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले गलत अफवाह र हल्लाका कारण पैसा भएका निजि क्षेत्रहरु लगानी नगरेर प्रतिक्षारत रहेकाले पनि यस्तो स्थितीको सृजना भइरहेको बताएका छन् ।
उनले देशको अर्थ व्यवस्थामा क्रमिक सुधार भइरहेको दावी गरेका छन् । उनले कोभिडको अन्त्य, पर्यटकहरुको आगमनमा वृद्वि भएपछि देशको अवस्था सुधारन्मोख भएको बताए । रेमिटयान्स आएको तर गलत अफवाहका कारण घर र बैंकमै थन्किएकाले पनि व्यापक समस्या जस्तो देखिएको उनको भनाई छ ।

मधेश सहितका प्रदेशहरुमा आवश्यक बजेट विनियोजनमा केहि त्रुटी भएको उनले स्वीकार गरे । मन्त्री महतले त्यस अगाडि जनकपुरधाम विमान स्थलमा पत्रकारहरु संगको कुराकानीमा गठबन्धन भित्र केहि असमmदारी र असन्तुष्टि रहेको भएपनि विस्तारै समाधान हुदै सरकार आफनो लयमा फर्किरहेको बताए ।

संघको साधारणसभाको समुदघाटन सत्रमा बोल्ने एमाले नेतृ जुली महतो, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जिनेन्द्र महासेठ, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, प्रदेश सांसद राम सरोज यादव, दिपेन्द्र ठाकुर सहितकाले जनकपुरधामको विकासका लागि बजेटमा कन्जुसाई नगर्न र महोतरीको जलेश्वर भिठ्ठामोड नाकालाई तेस्रो बन्दरगाहबाट सिधै जोडने मधेशको दोस्रो मुख्य भन्सार नाकाको रुपमा रुपान्तरणका लागि पहल गरिदिन हुन आग्रह गरेका थिए ।
