एसपी रिपोर्टर
जनकपुरधाम, चैत १९ : आज समुदघाटन हुने नेपालको एकमात्र रेल्वे जनकपुरधाम–जयनगर रेललाई दुल्ही झै सिंगारिएको छ । बर्षौवर्षको प्रतिक्षा पछि जनकपुरधाम सहित यस क्षेत्रको रेल्वे सेवा बल्ल समुदघाटन हुन लागेको छ । भारतको जयनगरमा रेललाई सजाएर तयार पारिएको छ । त्यहाँबाट खुल्ने रेललाई हरेक स्टेशनमा नागरिक अभिनन्दन गरिने छ ।
साथै हरेक स्टेशनमा स्वागतका लागि तयार छात्रछात्राहरुलाई समेत रेलमा सवार गराइने छ । नेपाल सरकारकी भौतीक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादव समेत जयनगरबाटै रेलमा चढेर जनकपुरधाम आउने छिन । जनकपुरधाम स्टेशनमा आइपुगेपछि समुदघाटन समारोहको आयोजना हुनेछ । जस्मा भारतको नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको स्वीच थिचेर समुदघाटन गर्ने छ ।
धनुषाको कुर्था स्टेशन देखि जनकपुरधाम हुदै भारत विहारको जयनगर सम्म काम सम्पन्न भएको नेपाल रेल्वको सेवा आइतवार देखि विधिवत औपचारिक रुपमा यात्रुलाई सेवा प्रदान गर्न गइरहेको छ । आइतवार देखि सुरु हुन लागेको कुर्था–जयनगर सम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि समान्य सिटका लागि रु ९० र वाता अनुकुलित सिट र सुविधा तर्फ ४ सय ५० रुपैया टिकट कायम गरिएको छ ।
जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसीकोच तर्फ रु ३ सय ५० कायम गरिएको छ । रेल्वे चल्ने सुनेपछि स्थानिय खुसी छन् । समुदघाटनको तयारी भइरहेको देखेर बल्ल स्थानियहरु अव रेल्वे चल्न लागेको विश्वास गर्न थालेका छन् । रेल्वे किनेको समेत १८ महिना कटि सक्दा पनि रेल्वे नचल्नु, पटक पटक रेल्वेको परिक्षण हुनु, नेपाल र भारत तर्फका प्रतिनिधी आएर अवलोकन र निरिक्षणमा मात्र सिमित हुनुले रेल्वे सञ्चालन असमञ्जसतामा परेको थियो ।