एसपी रिपोर्टर
जनकपुरधाम, असार ३२ :
मार्वल कम्पनीको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा जनकपुरधामस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मुरारकालाई बिहीबार जनकपुरधामस्थित उनको निवासबाट पक्राउ गरिएको हो। प्रहरीले उनीमाथि मार्वल कम्पनीको आधिकारिक ट्रेडमार्क अनधिकृत रूपमा प्रयोग गरी नक्कली पाइप उत्पादन तथा बजारमा बिक्री वितरण गरेको आरोप लगाएको छ।
प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा नक्कली पाइप उत्पादनको प्रक्रिया, वितरण सञ्जाल तथा यसमा संलग्न हुन सक्ने अन्य व्यक्ति वा समूहको भूमिकाबारे पनि छानबिन भइरहेको जनाएको छ।
प्रहरीले आरोप पुष्टि भए मुरारकामाथि प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।