एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ :
संयुक्त राष्ट्र परियोजना सेवा कार्यालय United Nations Office for Project Services (यूएनओपीएस) ले नेपालमा सुरक्षा तथा न्याय क्षेत्रमा सुधार गर्ने उद्देश्यसहित ‘सारा लर्निङ इभेन्ट’ आयोजना गरेको छ। कार्यक्रम सुरक्षा तथा न्याय सुधार परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो।
परियोजनाले नेपाल प्रहरी को क्षमता अभिवृद्धि, समुदायमैत्री प्रहरी प्रणाली सुदृढीकरण तथा संस्थागत कार्यसम्पादन र जवाफदेहिता बढाउने लक्ष्य राखेको छ। साथै, शान्ति, न्याय र सुदृढ संस्थाको विकासमा टेवा पुर्‍याउँदै स्थानीय तह, समुदाय र सुरक्षा निकायबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सम्बन्धित क्षेत्रका सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि, समुदायका सदस्य तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यो परियोजना बेलायत सरकारअन्तर्गतको Foreign, Commonwealth & Development Office (एफसीडीओ) को आर्थिक सहयोगमा सञ्चालनमा रहेको छ, जसलाई मधेश, लुम्बिनी र कर्णाली प्रदेशमा कार्यान्वयन गरिँदै आएको छ।