एसपी रिपोर्टर
वीरगन्ज ,साउन १९
: पर्सा प्रहरीले बै‌ंकिङ कसुरमा नेकपा माओवादी केन्द्रका एक स्थानीय नेतालाई पक्राउ गरेको छ ।पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर–६ लखनपुर निवासी शिवकुमार साह तेलीलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले सोमबार जानकारी दिए ।क्रान्ति गुप्तासहित दुई जनाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको लम्सालले बताए ।तेलीले आफ्नो खातामा पैसा नहुँदा नहुँदै १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काटेका थिए । प्रहरीमा परेको जाहेरीमा १० र ६ लाख ७५ हजारको दुई वटा चेक दिएको र बैंकबाट ती बाउन्स भएको भनिएको छ । चेक बाउन्स भएपछि प्रहरीले दर्ता गरेको मुद्दा अनुसार तेली पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । उनीविरुद्ध ५ दिनको म्याद थप भइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । गएको ०७९ सालको निर्वाचनमा उनले नेपाल सुशासन पार्टीको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए । 

उक्त चुनावमा हारेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।