एसपी रिपोर्टर
जनकपुरधाम ,साउन १५
: जनकपुरधाम उपमहानगरपालिका–४ मा खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–९, ईच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन्। उनलाई साउन १४ गते राति १०ः३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्त साहलाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार साहले साउन १२ गते राति करिब ११ः३० बजे आशा यादव, उनकी छोरी अन्जली कुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी अन्जलीको साउन १३ गते राति १२ः३० बजे उपचारको क्रममा मृत्यु भएको थियो। अन्जलीकी आमा आशा यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने राधा यादव उपचारपछि घर फर्किइसकेकी छन्।धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) बरुणबहादुर सिंहका अनुसार रामबाबुले यसअघि पनि आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय भोगिसकेका थिए। २०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए। चिनजानपछि उनीहरू जनकपुरधाममा डेरा लिएर बस्न थालेका थिए। तर पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्ध तोड्ने प्रयास गरेपछि आक्रोशमा आएर रामबाबुले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी सिंहले बताए।