एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ :

जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडारा गाउँपालिकाका २० बर्षिय प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
छुरा प्रहारबाट घाइते भएका महासेठको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता अवाका अनुसार घटनाबारे प्रहरीलाई सूचना आउनसाथ प्रहरीले आफ्नो सक्रियता बढाउँदै संलग्न २ जनालाई पक्राउ गरेको छ । तर अहिले उनीहरुमाथि अनुसन्धान चलिरहेकोले नाम भने गोप्य राखिएको प्रहरी प्रवक्ता अवाले बताए । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका केही सामग्रीसमेत बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।
हत्यामा संलग्न रहेकाहरु लागु औषधको सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ । सडकमा आपसी विवाद हुँदा छुरा प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट थाहा भएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।