एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : कोरोना संक्रमणवाट जनकपुरधामका पुर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको खवर प्राप्त भएको छ । उनको काठमाण्डौंमै उपचारका क्रममा मृत्यु भएको उनका छोरा डा.सन्तोष गिरीले बताएका छन् । ७२ वर्षिय उनी मुटु सहित विभिन्न रोगका विरामी समेत थिए ।
संजोग पनि कस्तो उनको छोरा डा. गिरीले मध्यराती १२ बजे उनको निधन भएको बताएको छ । कृष्ण जन्माष्टमीको मध्यराती भगवान श्री कृष्णको जन्म भएको किबन्दती अनुसार १२ बजे बिशेष पुजापाठ हुन्छ र संजोग कृष्ण नै नाम रहेको गिरीको सोहि दिन मध्यराती १२ बजे नै निधन भएको खवर छ ।
विगत २० दिन देखि काठमाण्डौंको मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिव एक सप्ताह अगाडि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गएराती उनको मृत्यु भएको हो । यद्यपि अस्पतालले आधिकारिक पुष्टी गर्न भने वाँकी छ । जनकपुरधाम स्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छोराहरु डाक्टर पेशामा एक अष्ट्रेलिया र एक बुर्नइमा बस्दै आएका छन् ।