एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ : प्रदेश २ को प्रदेशसभाको सुरक्षार्थ खटिने ५ जना मर्यादापालकहरुमा कोरोना संक्रमण देखा परेपछि आज ३ बजे बोलाइएको बैठक स्थगित भएको छ । साथै आर्थिक मामिला तथा योजना राज्यमन्त्री उशा यादवको स्वकीय सचिवलाई पनि कोरोना पुष्टी भएको छ । यस अघि प्रदेशसभाका सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पाँचजना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभामा सुरक्षा सर्तकता अपनाइएको सचिवालयका सहसचिव रञ्जित यादवले बताए ।
यादवका अनुसार खवर पाउने वितिकै आजको वैठक स्थगित गरि प्रदेशसभा सचिवालय खाली गराउनुका साथै सेनिटाइन गर्ने काम भइरहेको छ । मर्यादापालकहरुको आवजावत हुने सवै क्षेत्रको सेनीटाइज गर्ने काम भइरहेको र भोली १ बजे पुनः अर्को बैठक तोकिएपनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
संक्रमण भेटिएकाहरु नेपाल प्रहरीका कर्मचारी रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । यद्यपि प्रदेश २ को प्रदेशसभाले उनीहरु मर्यादापालक भएको बताएको छ । प्रजिअ निरौलाले संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए ।
प्रदेश सभाको चौथो अधिवेशन बुधबारदेखि प्रारम्भ भएको छ । चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गरिएको थियो । त्यस क्रममा प्रदेशसभा उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।