एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ७ : नेपाली सेनाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत समक्ष कोरोना भाइरसको भविष्यमा हुन सक्ने सम्भावित महामारीको अवस्थामा नेपाली सेनाले गर्ने कामहरुको प्रदर्शनी गरेका छन । उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागी नेपाली सेना मध्य पूर्व पृतनाले गरेको तैयारी धनुषाको क्षिरेश्वरनाथ स्थित महेन्द्रनगरको सेनाको गणमा प्रदर्शनी गरेको छ । मध्य पूर्व पृतनाले महेन्द्रनगर स्थित गणमा गरेको प्रदर्शनीको अवलोन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको तयारी बारे आवश्यक जानकारी प्राप्त भएको र यसले अन्य सुरक्षा निकाय र स्वयंसेवी संस्थालाई समेत लाभ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
नेपाली सेनाले कोरोना संक्रमित व्यक्तिको पहिचान देखी अस्पताल पु¥याउने, र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापन सम्मको तैयारी बारे प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षा कर्मीले प्रयोग गर्ने पिपिई देखी शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरु बारे समेत जानकारी गराएका थिए । नेपाली सेना मध्यपूर्व पृतनाका पृतनापति शुरेश कुमार कार्कीको अध्यक्षतामा भएको उक्त प्रदर्शनीमा मुख्यमन्त्री राउतका अतिरिक्त नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख पद्युमन कुमार कार्की, सशस्त्र प्रहरीका डिआइजी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिट्ेन्डेन्ट लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।