एसपी रिपोर्टर
जनकपुरधाम, असोज २ :
जनमत पार्टीका ६ जना नेताहरूले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । उनीहरूले आजकै मितिदेखि साधारण सदस्यतासमेत त्यागी पार्टीबाट पूर्णरूपमा अलग हुने घोषणा गरेका हुन् ।
राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।
अध्यक्ष डा. सिके राउतलाई सम्बोधन गरी पठाइएको राजीनामा पत्रमा उनीहरूले नेपालको विषम परिस्थिति र जनअपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको आरोप लगाएका छन् । नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्नुका साथै नेताहरूलाई अपमान गर्ने व्यवहार देखाएको पनि उनीहरूको आरोप छ ।
राजीनामा पत्रमा भनिएको छ, “नेपालको विषम परिस्थितिलाई मध्यनजर गर्दै जनभावना अनुरूप नेतृत्व परिवर्तनको माग गरेका हौं । तर, तपाईंले हाम्रो मागलाई अवहेलना गर्दै जेनजी पुस्ताले बगाएको रगतको अपमान गर्नुभयो र उल्टै नेता–कार्यकर्तालाई अहंकारपूर्ण भाषामा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभयो ।”
पद वा स्वार्थको राजनीतिभन्दा बाहिर रहने प्रतिबद्धता जनाउँदै उनीहरूले नयाँ पुस्ताको चाहना अनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सहकार्य गर्ने घोषणा गरेका छन् ।
यसअघि उनीहरूले अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए । तर, अध्यक्ष राउतले उल्टै असन्तुष्ट नेताहरूलाई नै राजीनामा दिन चेतावनी दिएका थिए ।





