एसपी रिपोर्टर
काठमाणडौँ, साउन २८
: नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विवादित विधेयकहरू संसद्मा नल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै पौडेलले भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, सङ्घीय निजामती विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने बताएका हुन् ।उनले भने, ‘भूमि विधेयक विवादमा पर्‍यो । मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ । सङ्घीय निजामती विधेयकको त कुरै न गरौँ । फेरि मुलुकी संहिता सम्बन्धित विवादित भएर ल्याइँदैछ भन्ने सूचना आएको छ । सहिदको बलिदानमा लतपतिएर आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न पाइँदैन सभामुख महोदय । नागरिकको गोपनीयतामाथि गम्भीर आघात पुग्ने गरी फोन कल, म्यासेज, संवादलाई समेत ट्यापिङ हुने गरी आउन लागिएको राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयक किन ल्याउन खोजिएको सम्माननीय सभामुख महोदय । यस्ता खालका विवादित नल्याउनका लागि सरकारसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’उनले कानुन निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।