एसपी रिपोर्टर
काठमाणडौँ, साउन २८
: आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘नेपालमा नेताको लुट र भ्रष्टाचार मात्रै सुरक्षित’ भएको र व्यक्तिको सुरक्षा नभएको टिप्पणी गरेका छन् ।

आम जनताको सुरक्षा दिन नसकेको सरकारले कैदीबन्दीको ज्यानको सुरक्षा गर्न असफल भएको उनले बताए । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले कारागारमा कैदीबन्दीको हत्याको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्दै यसबारेमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।वीरगञ्ज कारागारका कैदी राहुल साह र कैलाली कारागारका कैदी भरत चौधरीको हत्याको जिम्मा कसले लिने भन्दै उनले सरकारले यसबारेमा जवाफ दिनुपर्ने माग समेत गरे ।उपचार नपाएर साहको र झडपमा परेर चौधरीको मृत्यु भएपछि आजपा अध्यक्ष साहले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । ‘यो हत्याको जिम्मेवारी कसले लिने सभामुख महोदय । कैदी बन्दीको हत्या हुन्छ, त्यसको जवाफ कसले दिने ? के त्यहाँको कैदी बन्दी दोषी हो कि सरकारको बेथिती दोषी हो ? सरकारको प्रशासन दोषी हो कि सरकार दोषी हो ? कि कैदी बन्दी दोषी हो भन्ने गम्भीर प्रश्न उठ्छ । गम्भीर प्रश्न उजागर भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारका सम्बन्धित मन्त्री यसको जवाफदेही होस् । यसको जिम्मेवारी लिनुस् । किनकि अग्रिम सूचना हुँदाहुँदै कैलाली कारागारमा झडप हुन्छ । सरकारको सुरक्षा निकाय फेल हुन्छ । कैदीबन्दीले ४८ घण्टा कारागार आफ्नो नियन्त्रणमा लिन्छन् । यो घटना क्रमले धेरै कुरा उजागर गरेको छ ।’ आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति, सुरक्षा र अमनचयन नभएको अवस्थामा कारागार पनि असुरक्षित बनेको टिप्पणी गरेका छन् । कारागार पनि असुरक्षित हुन थालेपछि देशको शान्ति, सुरक्षाको अवस्था के हुने हो भनेर उनले प्रश्न गरेका छन् । ‘देशमा शान्ति, सुरक्षा, अमनचयन त भएन भएन, अब त कारागार पनि असुरक्षित हुन थाल्यो । सरकारको कष्टडीमा पनि व्यक्ति सुरक्षित नहुने भन्ने भयो । अहिले यसरी हेर्दा यो देशमा एउटा मात्रै सुरक्षित देखियो, त्यो भनेको नेताहरूको लुट र भ्रष्टाचार ।’कारागारमा भएको कैदीबन्दीको निधनमा सरकारको बेथिति दोषी रहेको साहको आरोप छ । कैलाली कारागारको अवस्थाबारे सरकारलाई अग्रिम जानकारी भएको भएपनि घटना घट्नु दुःखद् भएको उनको टिप्पणी छ ।कारागार नै कैदीबन्दीहरुले ४८ घण्टासम्म नियन्त्रण लिएको घट्नाले नेपालको सुरक्षा संयन्त्र असफल भएको पुष्टि भइसकेको साहको दाबी छ । त्यहाँ भएको आर्थिक अनियमितता, लेनदेनका कुरादेखि लिएर लागुऔषध ओसारपसार, हातहतियारको विषयहरू उजागर भएको उनले बताए । शान्ति, सुरक्षा दिन सरकार असफल भएको टिप्पणी गर्दै उनले अब नाइके, चौकीदारको पनि सरकारले भागबण्डा गर्न कटाक्ष गरे ।

लुट, भ्रष्टाचारको पनि सरकारले भागबण्डा गरोस् की अब झडप नहोस्, मान्छे मार्ने अवस्था नहोस् भन्दै सरकारको आलोचना गरे ।