एसपी रिपोर्टर
काठमाणडौं,साउन २६ : नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् ।सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ । विधायन व्यवस्थापन समितिले सोमवारदेखि विधेयकमाथि छलफल समेत थालेको छ ।विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था राखिएको छ ।
त्यस्तै १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ ।





